विराटनगरमा जेठ १७ र १८ गते श्रमाधान रोजगार मेला

विराटनगरमा जेठ १७ र १८ गते श्रमाधान रोजगार मेला

मोरङ – आन्तरिक रोजगारीलाई प्रवर्द्धन र वैदेशिक रोजगारी व्यवस्थित गर्नका लागि विराटनगरमा श्रमाधान रोजगार मेला हुने भएको छ।

मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले श्रमाधान रोजगार मेलाले रोजगारदाता र रोजगारी लिने पक्षबीच सहजीकरण हुने बताए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा जेष्ठ १७ गतेबाट सुरु हुने मेलाले नेपाली नागरिकको श्रम तथा र रोजगारीका बहुआयामिक आवश्यक्तालाई एकद्धार प्रणालीबाट सम्बोधन हुने अध्यक्ष राउतले विश्वास लिए।

उनले भने, ‘बजारमा आवश्यक भएका श्रमिकको पूर्ति मेलाले गर्ने अपेक्षा छ। यसको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्द्धन गरेर लैजानु नै हो। यसलाई हामीले श्रमको खोजी गरिरहेका युवा र रोजगारदाताको मिलनविन्दुको रुपमा लिएका छौँ।’

मेलामा श्रमिक र सरोकारवालाले रोजगारीका विषयमा गुनासोसमेत राख्न सकिने बताएका अध्यक्ष राउतले मेलालाई सीप तथा क्षमता विकासको सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा लिएको जानकारी दिए।

आन्तरिक रोजगारी प्रवर्द्धनसँगै वैदेशिक रोजगारी व्यवस्थित गर्नुपर्नेमा जोड दिएका अध्यक्ष राउतले वैदेशिक रोजगारीका सन्दर्भमा आवश्यक सूचना प्रवाह गर्दै विभिन्न ठगी धन्धालाई न्यूनीकरण गर्न मेलाले अह्म भूमिका खेल्ने बताए।

मेला अन्य प्रदेशमा समेत हुनेछ। विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतको समेत स्टल रहनेछ।