कृषि विद्यार्थी र भारतीय पाहुनाद्वारा कृषि एक्स्पो अवलोकन

कृषि विद्यार्थी र भारतीय पाहुनाद्वारा कृषि एक्स्पो अवलोकन

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा बिहीबारदेखि शुरु भएको चार दिने प्रथम कृषि एक्स्पोको दोस्रो दिन विभिन्न जिल्लाका किसान, विज्ञ तथा कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले अवलोकन गरेका छन् । एक्स्पो अवलोकनका लागि उनीहरूको उल्लेख्य सहभागिता रहेको जनाइएको छ ।

कोसी प्रदेशमा कृषि क्षेत्रको उन्नयनका लागि कृषक, उद्यमी, लगानीकर्ता र निजी क्षेत्रको समन्वय तथा सहकार्य बढाउने उद्देश्यसाथ मोरङको कटहरी–१ स्थित कृषि थोक बजार परिसरमा एक्स्पो शुरु भएको हो ।

महासंघका अध्यक्ष राजेन्द्र राउतले दोस्रो दिन कृषि क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको जानकारी दिए ।

शुक्रबार पाँचथर, इलाम, झापा सहितका विभिन्न जिल्लाका किसानले एक्स्पो अवलोकन गर्नुका साथै कृषि क्षेत्रमा आएका नयाँ प्रविधिबारे जानकारी लिएका छन् । उनीहरूले कृषि क्षेत्रमा प्रयोग भइरहेका यन्त्र र प्रविधिबारे एक्स्पोमा राखिएका विभिन्न स्टलमा पुगेर जानकारी लिएको जनाइएको छ ।

एक्स्पो अवलोकन गर्न गौरादह कृषि क्याम्पसका विद्यार्थीको समूह नै एक्स्पो स्थल आइपुगेको हो । कोशी प्रदेशका अन्य क्याम्पस तथा प्लस टु विद्यालयका विद्यार्थीहरूले समेत एक्स्पोमा सहभागिता जनाएका छन् । 

एक्स्पोमा शुक्रबारबाट शुरु भएको कृषि अन्तरसंवादमा पनि विद्यार्थी र कृषि सम्बद्ध व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको जनाइएको छ । 

कार्यक्रममा भारतको बिहारका विभिन्न जिल्लाबाट आएका सहभागीहरूले एक्स्पो अवलोकन गरेका छन् । उनीहरूले यस्तो किसिमको एक्स्पोले कृषि क्षेत्रको विकासमा सहयोग पुग्ने बताए ।

इलामबाट आएकी किसान लीलादेवी भट्टराईले देशमै उदाहरणीय रुपमा किसानका समस्या, यसको निकास र प्रविधिबारे जानकारी दिन आयोजना गरिएको एक्स्पो आफ्नो लागि महत्वपूर्ण र फलदायी भएको बताइन् । 

एक्स्पोमा बाहिरबाट आउने किसान तथा अवलोकनकर्तालाई महासंघले नै खाना र बासको व्यवस्थापन गरेको छ ।