निजी क्षेत्रको सहभागितामा मात्र कृषि व्यावसायिकता बढ्नेमा जोड

निजी क्षेत्रको सहभागितामा मात्र कृषि व्यावसायिकता बढ्नेमा जोड  कोसी प्रदेशमा कृषिको व्यवसायिकताका लागि निजी क्षेत्रको लगानी प्रवर्द्धन र सरकारी सहयोगमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मोरङको कटहरी कृषि थोक बजारमा भइरहेको एक्स्पको गरिएको कृषि अन्तर संवादका सहभागीले सरकारी समन्वयमा व्यावसायिकताको काम अघि बढ्नु पर्ने बताए ।
कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले कृषिको व्यावसायीकरण लामो समयदेखि चल्ने गरे पनि उपलब्धी भने आयातमुखी अवस्थामा रहेको बताए । मन्त्री मगरले सानासाना जमिनमा कृषिबाली लगाउने किसानले उत्पादन गरेको सामग्रीलाई ठूला कृषि उद्योग संचालन गरी प्रशोधन गरी निर्यात गर्न सकिने बताए । 
“निजी क्षेत्रले चिया उद्योग खोलेजस्तै अन्य आयमूलक उत्पादन निर्यात गर्ने उद्देश्यसहित लगानी बढाउनु पर्छ । यसका लागि सरकारले गर्ने सहयोग हुन्छ,” मगरले भने, “साना किसानकै मोडल उपयुक्त हुन्छ किन भने उद्योगीले धेरै जग्गा खरिद गरेर कृषिजन्य उद्यम सञ्चालन गर्न कठिन छ । किसानले उत्पादन गर्ने र उद्योगले खरिद गर्ने तरिका नै उचित हो ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाका अध्यक्ष रामचन्द्र उप्रेतीले निर्वाहमुखी कृषिबाट माथि उठेर उत्पादन बढाउनुको विकल्प नभएको सुनाए ।
“पहिले धेरै किसान हुनुहुन्थ्यो, उत्पादक थियौँ । तर अहिले सहर केन्द्रित बसाइँ बढ्न थालेपछि धेरै उपभोक्ता थपिनुभएको छ । उपभोक्ताले चाहेको र मौसमी उत्पादनलाई गुणस्तर कायम गरियो भने प्रतिफल प्राप्त हुन्छ,” उनले भने ।
उनले बजार र सप्लाई चेन मिलाउने प्रबन्ध सरकारले गर्नुपर्ने सुझाव दिए । दुग्धजन्य वस्तु, तरकारी, मासु र माछा उत्पादनलाई केन्द्रित गरी कोसी प्रदेशमा प्रशस्तै उत्पादन बढाउनले र लाभ लिने ठाउँ रहेको उप्रेतीको भनाइ थियो । 
तरकारी उत्पादन सहकारी संस्था चितवनका सञ्चालक खोजराज कटुवालले कोसी प्रदेश कृषि उपज धेरै निर्यात गर्ने प्रदेश भएको बताउँदै कृषिको आधुनिकीकरणका निम्ति कृषि औजार तथा प्रविधि प्रयोग बढाउनु पर्ने सुझाव दिए ।
उनले भने, “इजरायलमा मल्चिङ र थोपा सिँचाइ प्रणाली विकास भएको ५५ वर्षपछि हामी बल्ल प्रयोगको सुरुवाती चरणमा छौँ । अब आधुनिक ढंगले अघि नबढी सुखै छैन ।” 
मोरङको आरजू राइस मिलका विज्ञ डा. विवेकानन्द झाले आफूहरूले बजारमा माग रहेको धान उत्पादन गर्ने किसानको आम्दानी बढाउन समर्थन मूल्य तोक्ने, उत्पादन र कटानमा समेत सहयोग गर्दै आएको बताए ।
उनले भने, “बजारको माग बुझेर उत्पादनमा जोड दिने हो भने धान किसानले प्रशस्तै फाइदा लिन सक्नुहुन्छ । तर, माग एउटा छ उत्पादन अर्को गर्‍यो भने त्यसबाट प्रतिफल प्राप्त हुँदैन ।” 
तरकारी उत्पादा सहकारी धनकुटाका सञ्चालक मेगेन्द्र गुरुङले अहिले कोसी प्रदेशबाट ठूलो परिमाणमा बन्दाकोबीसहितका तरकारी भारतीय बजार निर्यात हुने गरेको बताउँदै यसको परिमाण बढाउन संघीय र प्रदेश सरकारले भूमिका खेल्नुपर्ने बताए ।
“नीतिगत र कानुन जटिलता तथा भारतसँगको समन्वयको अभावमा अहिले पनि नमुना परीक्षण गर्न कलकत्ता पठाउनुपर्ने बाध्यता छ । सहज ढंगको परीक्षणको व्यवस्था भए कोसीमा उत्पादित तरकारीजन्य कृषि उपज भारतका धेरै बजारसम्म पुर्‍याउन सकिन्छ,” उनले भने ।
इलामकी महिला उद्यमी लीलादेवी भट्टराईले सहकारीमार्फत महिला जोडिएर गरिएका कृषि उद्यमको प्रवर्धनमा सरकारले बढी चासो दिनुपर्ने बताइन् ।
कार्यक्रममा धानविज्ञ राजेन्द्र उप्रेतीले सहजीकरण गरेका थिए । कृषि एक्स्पो आइतबारसम्म चल्ने छ ।
एक्स्पोमा कृषि विज्ञ, किसान, उद्यमी र लगानीकर्तासमेत राखेर शुक्रबारबाट कृषि अन्तरसंवाद सुरु गरिएको हो ।